‘परान’ को नयाँ पोस्टरमा नीर शाह
दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको चलचित्र ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा बरिष्ठ अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्। यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन्। उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ। यो चलचित्रमा भावनात्मक पक्ष बलियो रहेको र सम्बन्धहरूको गहिराइलाई केलाएको हुन सक्ने अनुमान गर्न सकिन्छ।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले परानको निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा चलचित्र निर्माण गरिएको बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले बताए। दीपक आचार्यकै कथा रहेको चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।
चलचित्रमा वरिष्ठ अभिनेता नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ। कार्तिक १४ गतेबाट रिलिज हुने चलचित्र कार्तिक १४ गतेबाट रिलिज हुँदैछ।