‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ सार्वजनिक
चलचित्र ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ सार्वजनिक भएको छ। प्रशान्त शिवाकोटीको शब्द र संगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर रहेको छ ।

प्रेमिल गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ । गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ । गीत र भिडियोले विजय र संबृद्धिको जोडी रहेको संकेत गरेको छ ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।