चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ गीत रिलिज


चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले…’ बोलको गीत निर्माणपक्षले विजया दशमीका अवसर पारे सार्वजनिक गरेको हो। सुरेश बादलको शब्द रहेको गीतमा सुशान्त गौतमको स्वर र संगीत रहेको छ।

प्रेममा लीन भएको जोडीको प्रेम, गीतमा समेटिएको छ । प्रेममा परेको जोडी प्रेमबिना बाँच्न सक्ने अवस्थामा नरहेको तर मर्न पनि नसक्ने अवस्था गीतले चित्रण गरेको छ । बाहिर देख्दा कठोर देखिने व्यक्तिको भित्री हृदय कोमल हुने भन्दै गीतले एकले अर्कोको मनमा बसेको विषय उल्लेख गरेको छ । भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाको प्रेम देखाइएको छ ।

असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुँदैछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने मुकेश खनालको लेखन रहेको छ। विनोद पौडेल र गुञ्जन गिरि निर्माता रहेको चलचित्रमा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता र विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्