देशव्यापी देउसी भैलो यात्रामा ‘सोल्टिनी’ टिम
कार्तिक ६ गते भाइटिका बाट प्रदर्शनमा आउने चलचित्र ‘सोल्टिनी’ टिम यतिबेला देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार–प्रसारमा जुटेको छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निभाइरहेका छन्।

मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा लगायतको टोलीले आइतबार साँझ झापा जिल्लाको दमकमा याक्थुङ फिल्म मेकर्स एसोसिएसन कोसी प्रदेश कार्यसमितिसँग मिलेर आयोजना गरेको ‘देउसी भैलो कार्यक्रम’मा सहभागी भई वातावरणलाई उल्लासमय बनाएको थियो। कलाकारहरू र स्थानीयवासीले देउसी खेल्दै रमाइलो गरे भने, सो अवसरमा लिम्बू चलचित्रकर्मीहरूको अक्षयकोष निर्माण सहयोगार्थ सङ्कलित रकम सहयोग स्वरूप हस्तान्तरण गरिएको थियो।
यससँगै, सोही टिमले मोरङ जिल्लाको मिक्लाजुङमा जारी ‘मधुमाला रमाइलो मिनी मेला २०८२’ मा पनि सहभागिता जनाउँदै चलचित्रको प्रचार गरेको छ। सोमबार सुनसरीको धरानमा देउसी भैलो आयोजना हुँदैछ, जहाँ कलाकारहरू पुगिसकेका छन्। कार्यक्रमपश्चात् टोली मङ्गलवार पोखरा र बुधवार काठमाडौंमा हुने देउसी भैलो कार्यक्रममा सहभागी हुँदै चलचित्रको प्रमोसन यात्रा जारी राख्नेछ।
चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ। चलचित्रको अग्रिम टिकट बिक्री सुरु भइसकेको छ। अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्र अन्तरजातीय प्रेमकथामा आधारित रहेको छ । चलचित्रले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ। चलचित्रमा मुख्य भूमिकामा प्रकाश सपूत र परीक्षा लिम्बु छन्। उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।