‘परान’ प्रचारका लागी नेपाल आइपुगिन् अभिनेत्री पुजा चन्द
अभिनेत्री पूजा चन्द नेपाल आइपुगेकी छिन्। कार्तिक १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परान’ को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । आज बिहान नेपाल आइपुगेकी चन्दलाई चलचित्रका निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए।

विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले परानलाई लिएर आफू निकै उत्साहित रहेको उनको प्रतिक्रिया छ । ‘परान मेरा लागि एकदमै विशेष छ। प्रमोसनका लागी पुर्ण समय दिनेछु । पारिवारिक कथामा बनेको यो चलचित्र सबैलाई मनपर्ने मेरो विश्वास छ।’, उनले भनिन् । ‘निर शाह ज्यूसँग काम गर्न पाउनु मेरो लागी अर्को ठुलो खुसी हो ।’
चलचित्रमा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अन्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्यको अभिनय रहेको छ। ‘परान’ लाई बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो। यो कम्पनी देशकै प्रतिष्ठित व्यवसायिक समूह गोल्छा ग्रुप र प्रिज्मा ग्रुपको संयुक्त लगानीमा स्थापना भएको हो।





