पोष्टरमा यस्तो देखियो दया र प्रकाशको ‘मिरमिरे’
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक दुई पोष्टर मध्ये एकमा दयाहाङ राई र शाइसा गौचन प्रस्तुत छन्। मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन् । उनीहरू बाउ र छोरीजस्तो रहेको देखिन्छ । दुवै केही तनावमा छन् । कसैको पर्खाई वा वियोगमा रहेजस्तो देखिएको छ । दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको संकेत पोस्टरमा देखिन्छ ।

अर्को पोष्टरमा प्रकाश सपूत र सिर्जना निङ्लेखु पोस्टरमा फिचर्ड छन् । प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन् । मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिएका छन् । यार्सा फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ। चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु , माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् । चलचित्रमा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ।




