केहरको स्वरमा ‘कुमारी’ को गीत,चलचित्र माघमा रिलिज तय


दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘कुमारी’ को पहिलो गीत सार्वजनिक भएको छ। केहर सिंह लिम्बूको स्वरमा रहेको गीत ‘कता छौ मेरो फूल’ निर्माण टिमले सार्वजनिक गरेको हो। गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले तयार पारेको गीतको लाईभ प्रस्तुती चलचित्रको सार्वजनिक घोषणा कार्यक्रममा प्रस्तुत गरिएको थियो । अहिलेको पुस्ताका निकै सफल गायक केहरको यो गीतले उक्त समय देखि नै इन्टरनेटमा राम्रो साथ पाइरहेको थियो। अफिसियल रिलिज गीतले दर्शकको राम्रो साथ पाइरहेको छ।

गीत रिलिज संगै चलचित्रको औपचारिक रिलिज मिति पनि तय गरिएको छ। चलचित्र माघ २३ गतेबाट रिलिज हुनेछ। प्रेमकथानक चलचित्रको मुख्य भूमिकामा अबिषेक खड्का र आकृति राजभन्डारी रहेका छन्। दुवै कलाकार यसै चलचित्रमार्फत मुख्य भूमिकामा डेब्यु गर्दै छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा लगायत कलाकार पनि चलचित्रमा देखिनेछन्।

‘कुमारी’मा चार गीत रहनेछन्। सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् भने सङ्गीत लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीले भरेका छन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्।

प्रतिक्रिया दिनुहोस्