‘विदेशमा रहँदा नेपाली हुनुको अर्थ अझ गहिरो महसुस भयो’- श्याम क्षेत्री


मनोरन्जनसंगै समाजका यथार्थलाई बोकेर चलचित्र निर्माण हुने क्रम पछिल्लो समय बढेको छ। यहि बीचमा विदेश जाने सपनाभित्र लुकेको यथार्थ, मानसिक स्वास्थ्यको पीडा र नेपालीपनको खोजलाई समेटेर तयार पारिएको चलचित्र हो , ‘प्रवासी जीवन’। श्याम क्षेत्रीको परिकल्पनामा तयार भएको यो चलचित्रले प्रवासी नेपालीहरूको संघर्ष, पहिचान र मानसिक अवस्थालाई केन्द्रमा राखेको छ। नेपाली भाषी श्याम शरणार्थी शिविरमा हुर्किएका हुन् भने अहिले अमेरिकामा नै बसोबास गर्दै आएका छन्।

‘म भुटानी मूलको नेपाली भाषी हुँ । मेरो जन्म झापामै भयो, शरणार्थी शिविरमा हुर्किएँ । वैधानिक रूपमा नेपाली नागरिकता नभए पनि म आफूलाई नेपाली नै मान्छु’, क्षेत्रीले भने । अमेरिकामा पुनर्स्थापित भएपछि पनि उनले नेपालीपन नछाडेको र त्यही भावनाले कलाकारितातर्फ आकर्षित गरेको बताए । ‘विदेशमा रहँदा नेपाली हुनुको अर्थ अझ गहिरो महसुस भयो। कलाकारितामा करियर बनाउने सोचले अन्ततः चलचित्र निर्माणसम्म आइपुगेँ’, उनले भने ।


‘प्रवासी जीवन’ मा उनले अभिनयसँगै निर्देशनको जिम्मेवारी पनि सम्हालेका छन् । चलचित्रमा उनले मानसिक स्वास्थ्य समस्याबाट ग्रसित पात्रको भूमिका निर्वाह गरेका छन् । नेपालबाट ठूलो सपना बोकेर अमेरिका पुगेको युवाको कथा चलचित्रले प्रस्तुत गर्छ ।

क्षेत्रीका अनुसार नेपालमा बस्ने तथा विदेश जाने सोच बनाइरहेका दुवै वर्गका दर्शकका लागि चलचित्र महत्त्वपूर्ण छ । ‘विदेश जाने सोच बनाइरहेका युवाले चलचित्र हेर्नुपर्छ। प्रवासमा रहेका नेपालीहरूले हेरे भने आफ्नै कथा देखेजस्तो अनुभूति हुनेछ’, उनले भने । मानसिक स्वास्थ्यलाई मुख्य विषय बनाउनुको कारण आफ्नै अनुभव भएको उनले बताए। अमेरिकामा १७ वर्षको बसाइमा डिप्रेसन, आत्महत्या र एक्लोपनका धेरै घटनाहरू देखेपछि यस विषयमा कथा भन्नैपर्छ भन्ने महसुस भएको उनको भनाइ छ । चलचित्रमा श्यामको साथमा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ्ग, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा ‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्य रहेको छ। चलचित्रलाई छायाँकार रविन आचार्यले निर्माण गरेका हुन्। चलचित्रको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्