सिम्रन र अरुणको ‘गौँथली’को ट्रेलर सार्वजनिक


साउन १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । वाल विवाह र त्यसले जीवनमा ल्याउने समस्याको कथालाई ट्रेलरमा समावेश गरिएको छ।
सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

चलचित्रको कथा सार बताउने ट्रेलरमा स्वास्थ्यका कारण सिनेमाका मुख्य पात्र अरुण क्षेत्रीले देखाउने अस्वभाविक क्रियाकलाप र त्यसको सामना गरिरहेकी सिम्रन खड्कालाई देखाइएको छ ।

अटिजमबाट पीडित युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेलिरहेको समस्या, उनले पढ्नका लागि गरेको संघर्ष, परम्परागत मान्यता र विश्वासमा अडिरहेको सोच र त्यसले भत्काइरहेको सुन्दर सपना र घरलाई ट्रेलरमा भावनात्मक रूपमा चित्रण गरिएको छ ।

चलचित्र ‘गौँथली’लाई डा. कपिल रिजालले निर्देशन गरेका छन् । ‘गौँथली’मा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्