चलचित्र ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक


माया इन्टरटेन्मेन्टको प्रस्तुतीमा ‘कमेडी दरबार’ टिमले बनाएको चलचित्र ‘ककाकिकी’को पहिलो झलक सार्वजनिक गरिएको छ । जसमा मुख्य कलाकारहरु आफ्नो गाउँका लागी केहि गर्न खोजेको देखिन्छ । अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीले एउटा डाँडामा बसेर योजना बनाइरहेका छन् ।

उनीहरु ‘कुलेबारी’ नामको गाउँमा छन्, उक्त गाउँका लागी केहि गर्ने योजनामा छन् । सार्वजनिक झण्डै तीनमिनेटको झलकमा अभिनेत्री रेखाले भनेकी छिन्ः ‘गाउँको लागी यो काम गर्दा केहि भइहाल्यो भने के हुन्छ होला है ?’ यस्तै अभिनेत्री गौरीले ‘एउटा सालिक त बलाउलान् नि हरामीहरुले ।’ भनेको देखिन्छ । तर अर्की अभिनेत्री तृप्तिले भने ‘सालिक त बनाउँदैन होला, अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिक ?’ भन्दै जवाफ फर्काउँछिन् ।

आगामी भदौ १९ मा प्रदर्शनमा आउने ‘ककाकिकी’ को निर्माण टिमले पहिलो झलक सार्वजनिक गरेसँगै आफ्नो प्रचारप्रसारको काम औपचारिक रुपमा सुरु भएको जानकारी गराएको छ । चलचित्रका निर्देशकद्धय बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले आफूहरुले मिहिनत गरेर बनाएको चलचित्रअब दर्शकको हातमा छाडिदिन लागेको र जस्तो प्रतिक्रिया आउँछ त्यसमा आफूहरु सन्तुष्ट रहने बताउँछन् ।

पहिलो झलक सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के, अभिनेता महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी) लगायतले चलचित्रमा काम गर्दाका अनुभव साटेका थिए । चलचित्रमा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी बिजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, बिश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन् । चलचित्रको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् ।

प्रतिक्रिया दिनुहोस्