निखिल उप्रेतीले सुरु गरे ‘कस्तुरी’ को अन्तिम सेड्युल
चलचित्र ‘कस्तुरी’ को अन्तिम चरणको छायाङ्कन सुरु भएको छ । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्रको बाँकी छायाङ्कन आजदेखि काठमाडौंमा सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको करिब ९० प्रतिशत छायाङ्कन यसअघि नै सम्पन्न भइसकेको छ । अब बाँकी १० प्रतिशत छायाङ्कन पनि छिट्टै सक्ने योजनासहित निर्माण टिम काममा जुटेको हो ।

ऋत बोहोराको निर्देशनमा निर्माण भइरहेको चलचित्रमा निखिल उप्रेती र वर्षा सिवाकोटीका साथै शेखर चापागाईं, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमको अभिनय रहेको छ । चलचित्रमा गौरव पहारी र हेना नगरकोटी क्यामियो भूमिकामा देखिँदैछन् ।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको पटकथा पनि निर्देशक बोहोराले नै लेखेका हुन् । चलचित्रका निर्माता धिरजकुमार अग्रवाल हुन् भने अञ्जली चौधरी सह-निर्माताका रूपमा रहेकी छन् । चलचित्रको छायांकन आलोक शुक्लाले गरिरहेका छन् भने ललित विष्ट सहायक निर्देशकका रूपमा छन् ।







