‘जलाकी’ मा धिरज मगरको प्रवेश, फेरी एकपटक उपासनासंग सहकार्य


अभिनेता धिरज मगर नयाँ चलचित्र ‘जलाकी’ मा अनुबन्ध भएका छन्। ‘खुस्मा’ टिमले केहि समय अगाडी चलचित्रको निर्माण घोषणा गर्दै केहि प्रतिशत छायांकन समेत गरिसकेको छ। यो चलचित्रमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेको छ । अव चलचित्रमा धिरजको प्रवेश भएसंगै चलचित्रको टिम बलियो बनेको छ।

अशोक थापा मगरको निर्देशनमा चलचित्र तयार भैरहेको छ । अशोक र धिरजले चलचित्र ‘खुस्मा’ मा सहकार्य गरेका थिए। बर्ष २०८१ को यो सुपरहिट चलचित्र रहेको थियो। यो चलचित्रमा धिरज र उपासनाको जोडी रहेको थियो। चलचित्रमा समावेश ‘रुकुम मैकोट’ गीत सुपरहिट बनेको थियो। यसले चलचित्रको व्यापारमा फाइदा पुर्याएको थियो। धिरज चलचित्रको दोश्रो सेड्युलको छायांकनमा जोडिने निर्माण टिमले जानकारी दिएको छ। त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको चलचित्रको कलाकार लाइनअपले दर्शकमा रोमान्चकता थप्ने पक्का रहेको छ।

कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । यो चलचित्रको छायांकन तिन चरणमा गरिनेछ । रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो चलचित्रले मगर र गुरुङ समुदायको संस्कृतीलाई झल्काउने छ ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । चलचित्रमा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ । चलचित्रमा शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।

प्रतिक्रिया दिनुहोस्