प्रदर्शनको दोश्रो सातामा ‘ऊनको स्विटर’, पहिलो साताको कमाई ६ करोड नजिक


हलमा प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको चलचित्र ‘ऊनको स्विटर’ को पहिलो साताको कमाई सार्वजनिक भएको छ। निर्माण टिमले सार्वजनिक गरेको आंकडामा चलचित्रले पहिलो सातामा ५ करोड ७५ लाख रुपैयाको ग्रस कलेक्सन गरेको छ । निर्माताको हातमा २ करोड बराबरको रकम पहिलो साता नै पर्ने पक्का भएको छ। यो बर्ष पहिलो हिट चलचित्रको यात्रामा ‘ऊनको स्विटर’ लागेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

३०० आसपासको शोमा प्रदर्शन थालेको चलचित्रले रिलिजको पहिलो शो बाट नै दर्शकको साथ पाएको थियो । चलचित्रको गीतसंगीतले चलचित्रलाई ठुलो फाइदा दियो। नविन चौहानको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले दोश्रो साता पनि झन्डै २ सय शो पाएको छ। दोश्रो साता पनि चलचित्रलाई लिएर दर्शकको चासो राम्रो रहेको छ ।


चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर,सुनिल पोखरेल लगायतको अभिनय रहेको छ। चलचित्रका सार्वजनिक सवै प्रचार सामग्रीलाई दर्शकले रुचाएका छन्। यसकारण पनि यो चलचित्रको व्यापार केहि समय लम्बिने पक्का रहेको छ ।

चलचित्रको टिम देशका विभिन्न स्थानमा दर्शक भेट्न जाने भएको छ । निर्देशक नवीन चौहानका अनुसार भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ। भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्