‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्धित


अभिनेता दयाहाङ राईले नयाँ चलचित्रमा काम गर्ने सम्झौता गरेका छन्। यम शेर्पाको निर्देशनमा तयार हुने चलचित्र ‘मिरमिरे’ मा दया प्रमुख भूमिकामा अनुबन्ध भएका हुन्। यम र दयाले चलचित्र ‘कार्साङ’ मा सहकार्य गरेका थिए। निर्देशक शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका थिए ।

“हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो,” निर्देशक शेर्पाले भने, “स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ ।” मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ । अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका छैनन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको थियो ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो चलचित्रको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्