२०८३ मा अपेक्षा गरिएका चलचित्र नै बक्स अफिसमा असफल, यी चलचित्रले दिए ठूलो झट्का
वर्ष २०८३ को आधा अवधि बितिसकेको छ। कार्तिक महिना सकिन लाग्दा यस वर्ष बक्स अफिसमा निकै अपेक्षा गरिएका केहि चलचित्र प्रदर्शनमा आइसकेका छन्। तर, दर्शक र निर्माताको अपेक्षाअनुसार धेरै चलचित्रले बक्स अफिसमा उल्लेखनीय व्यापार गर्न सकेका छैनन्। चलचित्र विकास बोर्डको बक्स अफिस प्रणालीबाट सार्वजनिक भएका तथ्यांकले पनि यसलाई पुष्टि गर्छन्।

यस वर्षको पहिलो हिट चलचित्रका रूपमा ‘लालीबजार’ देखिएको छ। प्रदर्शनको समयमा विभिन्न अड्चन सामना गरेको यस चलचित्रले ९ करोड ३२ लाख ९ हजार ९२५ रुपैयाँ ग्रस व्यापार गरेको थियो। त्यस्तै, ‘गौथली’ले २६ करोड रुपैयाँको व्यापार गर्दै यस वर्षकै सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा आफूलाई अग्रस्थानमा उभ्याएको छ। १० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै ‘पेन्सन पट्ट’ पनि यस वर्षको अर्को सुपरहिट चलचित्र बनिसकेको छ।
दशैँमा प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा २’ ले ६ करोड ८१ लाख ८ हजार १८१ रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भयो। अपेक्षाकृत व्यापार गर्न नसके पनि चलचित्रले लगानी सुरक्षित गरेको निर्माण टिमको भनाई छ। त्यस्तै, दशैँको टिकापछि प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यो चलचित्र पनि बक्स अफिसमा सफल ठहरिएको छ।
तर, यस वर्ष केही यस्ता चलचित्र पनि प्रदर्शनमा आए, जसले बक्स अफिसमा ठूलो धमाका मच्चाउने अपेक्षा गरिएको थियो। कलाकारको स्टारडम, अघिल्ला चलचित्रको सफलता र निर्माणका कारण चर्चामा रहेका यी चलचित्रले भने सोचेजस्तो व्यापार गर्न सकेनन्।
१. आचार्य
निखिल उप्रेतीको कमब्याक चलचित्रका रूपमा हेरिएको ‘आचार्य’ले बक्स अफिसमा उल्लेखनीय व्यापार गर्न सकेन। निखिल उप्रेतीकै निर्देशनमा तयार भएको यस चलचित्रको प्रदर्शनअघि हाइप निकै उच्च थियो। एक्सन स्टार निखिलको पुनरागमन भएकाले पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो।
तर, चलचित्रले ९ दिनमा करिब १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ मात्रै ग्रस कलेक्सन गरेको तथ्यांक छ। महँगो बजेट र उच्च अपेक्षाका बीच यो व्यापार निकै कमजोर देखिएको छ। यससँगै निखिल उप्रेतीको कमब्याक बक्स अफिसमा प्रभावकारी बन्न सकेन।
२. झिङ्गे दाउ २
पहिलो भागले चर्चा र सफलता दुवै हासिल गरेपछि ‘झिङ्गे दाउ २’ प्रति दर्शकको अपेक्षा पनि उच्च थियो। तर, दोस्रो भागले भने बक्स अफिसमा पहिलो चलचित्रको सफलता दोहोर्याउन सकेन। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यस चलचित्रले बक्स अफिसमा निराशाजनक प्रदर्शन गर्यो।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चलचित्रले ले १ करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ मात्रै ग्रस व्यापार गरेको छ। निर्देशक ज्ञानेन्द्र देउजा स्वयं निर्माता रहेको यस चलचित्रले अपेक्षाअनुसार व्यापार गर्न नसक्दा बक्स अफिसमा असफल चलचित्रको सूचीमा परेको छ।
३. १२ गाउँ २
पहिलो भागले १९ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएपछि ‘१२ गाउँ २’ प्रति दर्शकको अपेक्षा निकै उच्च थियो। विराज भट्टको निर्देशन तथा समीर भट्टको मुख्य अभिनय रहेको यस चलचित्रले पनि बक्स अफिसमा सोचेजस्तो प्रदर्शन गर्न सकेन।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘१२ गाउँ २’ ले २ करोड ३१ लाख ४० हजार ६७१ रुपैयाँ मात्रै ग्रस कलेक्सन गरेको छ। पहिलो भागको सफलतासँग तुलना गर्दा यो कमाइ निकै न्यून हो।
उच्च हाइप, विराज र समीरको स्टारडम तथा पहिलो भागको सफलताका कारण दोस्रो भागले पनि बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो। तर, सार्वजनिक तथ्यांकले चलचित्र बक्स अफिसमा असफल भएको प्रष्ट छ .
४. छ माया छपक्कै २
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘छ माया छपक्कै २’ ले पनि बक्स अफिसमा सोचेजस्तो व्यापार गर्न सकेन। चलचित्र असफल भएको स्वीकार गर्दै यसको जिम्मेवारी आफूले लिने प्रमुख अभिनेता दीपकराज गिरीले सार्वजनिक रूपमै बताइसकेका छन्।
चलचित्रले ३ करोड ४२ लाख २ हजार ९४५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। निर्माता रोहित अधिकारीले चलचित्रको लगानी नै ३ करोड रुपैयाँभन्दा बढी रहेको बताएका थिए। यस हिसाबले चलचित्रको व्यापारले लगानी र अपेक्षाअनुसारको प्रतिफल दिन सकेन।
आमा सरस्वती मुभिजको सहभागिता रहेको चलचित्रमध्ये ‘छ माया छपक्कै २’ पहिलो असफल चलचित्र बनेको छ। अघिल्ला सफलताका कारण यस चलचित्रप्रति दर्शकको अपेक्षा उच्च थियो। तर, बक्स अफिसको नतिजाले निर्माण टिमलाई निराश बनाएको छ।
त्यस्तै यो बीचमा रिलिज भएको चलचित्र ‘बेहुली’ पनि बक्स अफिसमा सफल हुन् सकेन । डिजिटल राइट्स, विदेश प्रदर्शन अधिकारबाट चलचित्र सुरक्षित रहेको अनुमान छ । स्टारकाष्टका कारण यो चलचित्र चर्चामा रहेको थियो । ‘कुल ब्वाय’ र दिव्या रायमाझी अभिनीत ‘बेहुली’को ग्रस व्यापार २ करोड ९२ लाख १३ हजार ८२४ रुपैयाँ रहेको आंकडा छ।
त्यस्तै निता ढुंगानाको निर्माण रहेको चलचित्र ‘पार्वती’ ले २ करोड २९ लाख ८८ हजार ९२३ रुपैयाँ ग्रस कमाएको छ । निताले आफ्नो लगानी अनुसार चलचित्र बक्स अफिसमा सुरक्षित रहेको जानकारी दिएकी छिन् ।
यो बीचमा रिलिज भएका धेरै चलचित्र बक्स अफिसमा पूर्ण रुपमा असफल भए ।








