फरक परिवेशको उस्तै कथामा ‘जारी’ र ‘बुलाकी’, कसले तान्ला हलमा दर्शक?


बैशाख १ गते चार चलचित्र रिलिजको तयारीमा रहेका छन्। चार वटै चलचित्रका प्रचार साम्रगीले दर्शकको राम्रो प्रतिक्रिया बटुलेका छन्। फरक समयमा रिलिज भएको भए चार वटै चलचित्रको व्यापारिक यात्रा पनि राम्रो हुने आंकलन गरिएको छ। तर एकै समयमा रिलिज हुने भएपछी कुनै न कुनै चलचित्र मारमा पर्ने पक्का रहेको छ। रिलिज तयारीमा रहेका चलचित्र मध्ये दुई चलचित्रले उठान गरेका कथा वस्तु उस्तै रहेका छन्। ‘जारी’ र ‘बुलाकी’ ले उठान गरेको कथा उस्तै रहेको छ। ‘जारी’ ले लिम्बू संस्कृतीमा रहेको जारी प्रथाको कथा उल्लेख गरेको छ। नेपालको बिशेष गरी पूर्वी भूभागको लिम्बू जातीमा प्रचलित रहेको यो प्रथाको कथा चलचित्रमा उठान गरिएको छ। आफ्नो श्रीमान संग सम्बन्ध सुमधुर हुन नसकेपछि अर्को संग विवाह गर्दा पहिलो श्रीमान् लाई दोश्रो तर्फको श्रीमान् बाट हर्जना स्वरुपा तिरिने रकम नै जारी हो। जारी तिर्न नसके काम गरेर हर्जना बराबरको असुली गर्ने प्रचलन रहेको छ।

यस्तै कथा चलचित्र बुलाकीले पनि उठान गरेको छ। नेपालको कर्णाली क्षेत्रमा प्रचलित रहेको यो प्रथाको कथा चलचित्रले उठान गरेको छ। जारी र बुलाकी दुवैको कथा ट्रेलरमा हेर्दा उस्तै देखिन्छ। अझ दुवै चलचित्रमा बच्चाको जन्म हुननसक्दा आउने सम्बन्धको उतारचढाव पनि उस्तै रहेको छ। जारीमा दयाहाङ्ग राई र मिरुना मगर बीच सन्तानको जन्म नहुने कारणले झगडा परेको छ। सुरक्षा पन्त र नरेन खड्का र उनको परिवार बीच पनि झगडाको बिउ सन्तान नै रहेको छ।पारिवारिक कलहपछी मिरुना र सुरक्षा दुवैको बाहिरी सम्बन्ध, अर्को विवाह र जारी तिर्ने सवल कथासार एकै रहेको छ। दोश्रो पक्षले जारी तिर्न नसक्ने अवस्था पनि उस्तै हिसावले चित्रित गरिएको छ।

दुवै चलचित्रको परिवेश र संस्कृति फरक रहेको छ। सुरक्षा र नरेनको साथमा बुलाकी टिमले कर्णालीको जनजीवन, लवज र लुक्सलाई आफ्नो पात्रमा ढलेका छन्। दया र मिरुनाको साथमा जारी टिमले पनि आफ्नो परिवेश र संस्कृतिलाई पात्रमा चित्रित गरेका छन्। तर एकै कथा सार बोकेका दुई चलचित्र एकसाथ रिलिज हुँदा दुवैलाई घाटा हुने पक्का देखिन्छ।

प्रतिक्रिया दिनुहोस्