दुर्घटनाले खोस्यो ‘जलाकी’को मुख्य भूमिका, भाग्यले फेरि फर्कायो सोनामलाई !
गायन क्षेत्रमा सोनाम तोप्देन नयाँ नाम होइन । युट्युबमा उनले गाएका दर्जनौँ गीत सफल छन् । कभर गायकका रूपमा उनले निकै ठूलो उपलब्धि हासिल गरेका छन् । तिब्बती भाषाका गीतमा समेत उनको स्वरले राम्रो सफलता पाएको छ । नेपाली गीतसंगीतमा पनि उनले हिट गीत दिएका छन् ।

अभिनयको कुरा गर्दा सोनामले चलचित्र ‘सम्हालिन्छ कहिले मन’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । व्यावसायिक रूपमा चलचित्र सफल हुन नसके पनि डेब्यु चलचित्रबाटै उनको चर्चा भने निकै भयो । तर, आफ्नो पहिलो चलचित्रमा गरेको अभिनयप्रति सोनाम आफैँ भने त्यति सन्तुष्ट रहेनछन् ।
त्यसपछि दोस्रो चलचित्रका लागि उनले लामै समय खर्चिए । अन्ततः मीन भामको निर्देशनमा बनेको चलचित्र ‘साम्बाला’ ले उनलाई सफलताको नयाँ उचाइमा पुर्यायो । नेपालमा व्यावसायिक रूपमा ठिकठाक प्रदर्शन गरेको यस चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा भने भव्य सफलता हासिल गर्यो ।
सोनाम यतिबेला आफ्नो तेश्रो चलचित्र लिएर आउने तयारीमा रहेका छन् । ‘जलाकी’ चलचित्रमा पहिले सोनाम नै प्रमुख भुमिकामा रहेका थिए । सोनामको साथमा धिरज र उपासना सिंह ठकुरीलाई प्रमुख भुमिकामा लिएर निर्देशक अशोक थापा मगरले चलचित्रको घोषणा गरेका थिए । तर ढोरपाटनमा चलचित्र ‘ऐरी’ को एक्सन दृश्य खिच्ने क्रममा भएको दुर्घटनामा सोनमको देब्रे खुट्टा भाँचियो । जीवनकै पीडादायी क्षणमा उनलाई हेलिकप्टरबाट उद्धार गरी पोखरास्थित चरक मेमोरियल अस्पताल पुर्याइयो । चिकित्सकले कम्तीमा छ महिना पूर्ण आराम गर्न सल्लाह दिएपछि उनको हातमा चलचित्र ‘जलाकी’ रहेन ।
अशोकले कथा परिवर्तन गरेर धिरज र उपासनालाई लिएर चलचित्र निर्माणको तयारी थाले । यता सोनाम भने बैसाखीको सहारामा हिँडिरहेका थिए । उनका लागि शारीरिक पीडाभन्दा ठूलो पीडा आफूले मन पराएको कथा र पात्रमा अभिनय गर्न नपाउनु थियो । तर, भनिन्छ नि, जसको भाग्यमा जे लेखिएको हुन्छ, अन्ततः त्यही हुन्छ । सोनामले अन्ततः आफूले चाहेकै चलचित्रमा प्रमुख भूमिकामा अभिनय गर्ने अवसर पाए ।
मुख्य भूमिकामा अभिनय पछाडीको पनि रोचक किस्सा छ । धिरज मगरलाई मुख्य भूमिकामा लिएर अशोकले चलचित्र निर्माण अगाडी बढाउने सोचमा थिए।
महिनौँको कठोर फिजियोथेरापीपछि सोनम बिस्तारै स्वस्थ हुँदै गए । यसैबीच, निर्देशक मगरले उनलाई ‘जलाकी’ मै सहायक भूमिकामा अभिनय गर्ने प्रस्ताव राखे । चलचित्रमा पुन: जोडिन पाउँदा सोनम खुसी भए । धिरजका अन्य चलचित्रको सेड्युल संग यो चलचित्रको सेड्युल बारम्बार मिलिरहेको थिएन । अन्तत: सहमतिमा धिरज चलचित्रबाट बाहिरिए र सोनाम प्रमुख भूमिकामा अनुबन्ध भए ।
त्यो उतारचढावपूर्ण समय सम्झँदै सोनम भन्छन्, ‘चलचित्रमा धीरजको आगमनले खुसी त थिएँ तर आफू नभएकोमा स्याड भएर बसिरहेको थिएँ । त्यही बेला अशोक थापा मगरले सपोर्टिङ रोलमा खेल्ने अफर गर्नुभयो । त्यसले मलाई झन् खुसी दियो । त्यसमाथि सुटिङ सेड्युल पनि तन्किँदै गएको रहेछ । मेरो खुट्टा पनि बिस्तारै निको हुँदै गयो । र साइडबाट फेरि लिड रोलमै म जोडिने मौका पाएँ ।’
पर्दापछाडिका यी आरोह-अवरोहलाई सोनम आफ्नो जीवनको महत्त्वपूर्ण अनुभव र सिकाइका रूपमा लिन्छन् । उनी भन्छन्, ‘चलचित्र ‘शाम्बाला’ मा मेरो अभिनय मन पराइएको कारण निर्देशक अशोक थापा मगरज्यूले मलाई ‘जलाकी’ को अफर गर्नुभएको थियो । बीचमा दुर्घटनाले मलाई टाढा पुर्याए पनि सायद यो कथा र पात्र मेरै भाग्यमा लेखिएको रहेछ, म फेरि फर्किएँ ।’
सोनमका लागि ‘जलाकी’ प्रेमकथामा मात्र सीमित छैन । यो नेपाली समाज र संस्कृतिसँग अझ नजिकिने माध्यम पनि हो । भारतको मनालीमा जन्मिएका सोनमले बाल्यकालका नौ वर्ष गुम्बामा बिताए । पारिवारिक जिम्मेवारीका कारण १० वर्षको उमेरमा उनले सांसारिक जीवन रोजेका थिए ।
नेपालमै रहेर नेपाली भाषा, कला र संस्कृतिसँग आफूलाई जोड्दै आएका सोनमलाई अझै पनि कतिपयले बाहिरबाट आएको व्यक्तिका रूपमा हेर्ने गर्दा भने चित्त दुख्ने गरेको छ । त्यसैले पनि उनी ‘जलाकी’ लाई आफ्नो पहिचान थप बलियो बनाउने अवसरका रूपमा हेर्छन् ।
चलचित्र प्रदर्शनपछि नेपाली दर्शकमाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा राखेका सोनम भन्छन्, ‘मलाई अझै पनि धेरैले चिन्नुभएको छैन । तर ‘जलाकी’ को पात्र र कथाले मलाई हरेक नेपाली दर्शकको मनसम्म पुर्याउनेछ भन्ने विश्वास छ ।’
त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा सोनमले अभिनयसँगै पार्श्व गायनमा समेत स्वर दिएका छन् । चलचित्र मङ्सिर ४ गतेबाट रिलिज हुँदैछ ।







