मुकुन र दियालाई भकुण्डेबेंसीमा उत्कृष्ट नायक- नायिकाको अवार्ड


दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सवमा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ । काभ्रेको भकुण्डेबेंसीमा शनिवार आयोजित समारोहमा ज्ञानेन्द्र देउजा निर्देशित फिल्मलाई उक्त अवार्ड प्रदान गरिएको हो । चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा फिचर फिल्मतर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘झिंगेदाउ’बाट मुकुन भुषालले प्राप्त गर्दा उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘प्रकाश’बाट दीया मास्केलाई प्रदान गरियो ।फिचर फिल्म जुरी अवार्ड ‘प्रकाश’लाई प्रदान गरियो । निर्देशक दीनेश राउतले उक्त अवार्ड ग्रहण गरे ।

उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । उत्कृष्ट फिचर फिल्म छायाँकारको अवार्ड पनि ‘डेसान’ले प्राप्त गर्यो । छायाँकार चक्र बहादुर महर्जनले उक्त अवार्ड हात पारे । यस्तै महोत्सवमा उत्कृष्ट फिचर फिल्म पटकथाको अवार्ड ‘प्रकाश’बाट विकास सुवेदीले प्राप्त गरे । उत्कृष्ट डकुमेन्ट्री अवार्ड फिल्म ‘हल्कारा’ले प्राप्त गर्यो । निर्देशक दयाराम घिमिरेले उक्त अवार्ड ग्रहण गरे । उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्रदान गरियो । उत्कृष्ट भाषिक फिल्म तर्फको अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’लाई प्रदान गरियो । उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड ‘परिवर्तन’बाट सरिता भारतीलाई प्रदान गरियो ।

उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड पनि ‘परिवर्तन’बाट डब्बु क्षेत्रीले प्राप्त गरे । उत्कृष्ट सर्ट फिल्मको अवार्ड भने ‘चरित्र’लाई प्रदान गरियो । उत्कृष्ट सर्ट फिल्म अभिनेताको अवार्ड ‘परिवर्तन’बाट प्रवण भुसालले प्राप्त गरे । उत्कृष्ट सर्ट फिल्म अभिनेत्रीको अवार्ड ‘चरित्र’बाट श्रोता आचार्यले जितिन् । शुक्रवारबाट भएको महोत्सव उत्कृष्ट फिल्मलाई अवार्ड वितरण गर्दै शनिवार साँझ समापन गरिएको हो ।

आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक दीपेन्द्र लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, अभिनेता उत्तम केसी,निर्माता संघका कोषाध्यक्ष ज्योती राइ लगायतले अवार्ड प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्