दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन, दशैंमा रिलिज हुने


‘मेरो एउटा साथी छ’ मा संगै काम गरेका स्टार नायकहरु दयाहाङ राई र आर्यन सिग्देल पुन: चलचित्रमा देखिने भएका छन् । दिनेश राउतको निर्देशनमा तयार हुने चलचित्र ‘गाउँ नै रमाइलो’ मा दया र आर्यनलाई संगै देखिने पक्का भएको हो । हिमाल कडरियाले चलचित्रको निर्माण गर्नेछन्। हिमालले दयानै मुख्य भूमिकामा रहेको यस बर्षको सफल चलचित्र ‘नाङ्गो गाउँ’ को निर्माण गरेका थिए ।


दिनेशले ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् । यो चलचित्रमा आर्यन नै मुख्य भूमिकामा रहेका छन्। आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा गरिएको चलचित्र क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुनेछ। गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गरिने बताइएको चलचित्रमा अन्य कलाकारहरुको घोषणा विस्तारै गरिने निर्माणपक्षले बताएको छ । चलचित्रको छायांकन आउँदो बर्षको जेठबाट सुरु हुने निर्माणपक्षले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्