स्वस्तिमाको ‘चिसो मान्छे’ भिडियो पसलमा रिलिज


अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘चिसो मान्छे’ नेपालको ओटीटी प्लेटफर्म भिडियोपसलमा रिलिज भएको छ। गत बर्ष रिलिज भएको चलचित्रलाई नेपाल बाहिर मात्र स: शुल्क रुपमा हेर्न मिल्ने व्यवस्था गरिएको छ। विदेशमा बस्ने नेपाली दर्शकहरुलाई मध्यनजर गर्दै चलचित्र सार्वजनिक गरिएको भिडियो पसलका सह-संस्थापक नेहा कार्कीले बताएकी छन् ।

वेव ब्राउजरमा लगइन गरेर वा सबैखाले स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी २.९९ डलरदेखि ५.९९ डलरसम्मको प्याकेज लिएर चलचित्र हेर्न मिल्ने जनाइएको छ । विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्ड मार्फत् पैसा तिर्न सकिने छ । भिडियोपसलमा यसअघि ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’ लगायतका चलचित्र रिलिज भइसकेका छन् । स्वस्तिमाले सुदूरपश्चिमकी महिलाको भूमिकामा अभिनय गरेको चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । समीक्षात्मक हिसाबले रुपले रुचाईएको चलचित्र कोरोना कहरको समयमा विदेशबाट आएको शव लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्राको कथामा केन्द्रित छ । शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा अर्पण थापा र देशभक्त खनालको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्