आंचलको व्यस्तता: हातमा आधा दर्जन बढी चलचित्र


अभिनेत्री आंचल शर्मा पछिल्लो समय एकपछि अर्को चलचित्रमा देखिदैछिन्। ‘झिङ्गे दाऊ’ को सफलताले दंग पारेकी आंचललाई ‘नाई नभन्नु ल ६’ को असफलताले केहि धक्का दियो। तर उनको हातमा चलचित्रको कमी रहेको छैन। उनी एकपछि अर्को चलचित्रको लागी समय दिइरहेकी छिन्। भर्खरै उनले रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘डिग्री माईला’ को सुटिङ्ग सम्पन्न गरिन्।

दयाहाङ राईसंग जोडी बाँधेकी आंचलको यो चलचित्र दर्शकका लागी प्रतिक्षित रहेको छ। यहि चलचित्र बाट २०८१ को बम्पर सुरुवात गर्ने तयारीमा आंचल रहेकी छिन्। केहि दिन अगाडी आंचल मुख्य भूमिकामा रहने चलचित्र ‘राज महल’ को एक कार्यक्रमका बीच घोषणा गरियो। बलियो स्टारकाष्ट रहेको चलचित्र केहि समय पछाडी बन्ने चर्चा रहेको छ। ‘एक मुट्ठी बादल’ मा आंचल आफुलाई फरक भूमिकामा प्रस्तुत गर्दैछिन्। यो उनको करियरको बिशेष चलचित्रको रुपमा हेरिएको छ। उनी अव यो चलचित्रको लागी समय दिने तयारीमा रहेकी छिन्।

कृषा चौलागाईको निर्देशनमा तयार हुने चलचित्र ‘पिताम्बर’ उनले साइन गरिसकेकी छिन्। यो चलचित्रका लागी उनले नयाँ बर्षको समय दिनुपर्ने बुझिएको छ। अर्को एक चलचित्रमा पनि आंचल रहने चर्चा रहेको छ। मिलन चाम्सको निर्देशनमा रहेको चलचित्र ‘बर एण्ड बधु’ को रोकिएको सुटिङ्ग सम्पन्न उनले गर्नुपर्ने छ। यो चलचित्रलाई उनले ‘एक मुट्ठी बादल’ पछि समय दिनेछिन्। चैत्रमा सम्भवत: ‘बर एण्ड बधु’ को सुटिङ्ग आंचलले सम्पन्न गर्नेछिन्। धिरज मगरसंग उनको चलचित्र ‘पन्चामृत’ घोषणा भएको लामो समय भयो। चलचित्रमा सौगात मल्ल पनि रहने चर्चा रहेको छ। त्यस्तै आंचलले दिपेन्द्र लामाको निर्देशनमा तयार हुने चलचित्र ‘दुखी आत्मा’ साईन गरेकी छिन्। चलचित्रमा अभिनेता दयाहाङ राई उनको जोडीको रुपमा देखिदैछन्। यो बर्ष र अर्को बर्ष आंचललाई निकै व्यस्त देखिनेछ।

प्रतिक्रिया दिनुहोस्