‘रङ्गेली मा मेरो पात्रले सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ’ – दयाहाङ राई


चलचित्र बजारमा अहिले सर्वाधिक डिमाण्ड र व्यस्त कोहि छन् भने ति हुन् अभिनेता दयाहाङ राई। उनलाई चलचित्रको सुटिङ्ग, प्रमोसन र रिलिज डेटको तारतम्यको हैरानी रहेको छ। यहि बर्ष मात्र दुई पटक उनका चलचित्र एकसाथ रिलिज भए।
दया अभिनित नयाँ चलचित्र ‘रङ्गेली’ फागुन २५ गतेबाट रिलिज हुँदैछ। दया चलचित्रमा ग्याङस्टार भूमिकामा देखिदैछन्। उनि सन् २०१३ मा रिलिज भएको चलचित्र ‘छड्के’ मा ग्याङस्टार भूमिकामा देखिएका थिए। दयाहाङको बुझाइमा ‘छड्के’ र ‘रङ्गेली’ को ग्याङस्टार चरित्रको उठान भेगीय हिसाबले केही फरक छ । दयाहाङ ‘रङ्गेली’मा ‘विजय’ पात्रको भूमिकामा छन् ।

दयाहाङ भन्छन्,’ मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ‘ग्रे’ चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । ‘रङ्गेली’को चरित्रलाई पनि ‘ग्रे’ चरित्र मान्न सकिन्छ, तर आम मानिसको आम सोचाइबाट हेर्दा यसमा ‘डार्क’ चरित्र नै देखिन्छ । चलचित्रमा विजयभित्र रहेका मानवता र अनुभूतिका कुरा छ।’

दयाहाङ ‘रङ्गेली’लाई सूक्ष्म तरिकाले हेरिरहँदा भोलिका दिनमा हरेक मान्छेसँग कुराकानी गर्दा ‘विजय’ जस्तो मान्छे बाहिर निस्किन्छ कि भन्नेमा ढुक्क छन् । ‘विजय जस्तो मान्छे निस्कियो भने हामीलाई नै घात हुन्छ कि भन्ने अनुभूति गराउँछ जस्तो लाग्छ । अरू चलचित्रमा मेरो चरित्रले समाजका एकदमै सामान्य मान्छेहरूको जीवनलाई उठान गरेको छ । रङ्गेली मा पनि सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ,’ दयाहाङले भने ।

दयाहाङको बुझाइमा ‘विजय’ चरित्र भित्र कहीँ न कहीँ बिसाउने ठाउँ पायो भने उसले सारा चिज बिसाउने इच्छा हुन्छ । ‘मेरो लागि यो चाखलाग्दो यात्रा थियो । किनभने विजयका लागि एउटा चुनौतीमा गएर उसको जीवनको यात्रा सकिएको छ ।’ दयाहाङ भन्छन् ।

दयाहाङका लागि ‘रङ्गेली’ को विजय चरित्र आफैँमा चाख लाग्दो चरित्र पनि रहेछ । ‘विजयले पाउने साथीहरूको साथ, आफूभन्दा अग्रजहरूले दिएको माया, प्रेमिकाले दिएको साथ चाख लाग्दो कुरा हो । तर त्यति हुँदाहुँदै पनि वरपरकाले उसका कमजोरीलाई हतियार बनाइरहेका हुन्छन् । जसले हतियार बनाउन खोज्छ, उसको लागि त्यो कसरी फर्केर आउँछ भन्ने कुरा चाहिँ मलाई अर्को सबैभन्दा चाखलाग्दो लाग्यो । कसैलाई पनि हीन भावले हेर्नु हुँदैन भन्ने सन्देश पनि चाखलाग्दो छ । त्यो चरित्र निभाइरहँदा पनि आफूलाई महसुस गरिरहेको थिएँ’, उनी भन्छन् ।

दयाहाङको बुझाइमा कोही मान्छे पनि समाजमा खल पात्र हुँदैनन् । उनीहरू समाजभित्र फरक भएकैले पनि ती पात्रलाई समाजले ‘इग्नोर’ गर्ने गरेको उनको बुझाई छ । “हरेक मान्छेमा फरक पाटो हुन्छ । म यसरी यो बाटो पुग्छु भनेर जो मान्छे यात्रा गरिरहेको हुन्छ । समाज अगाडी दौडिरहँदा कहिँकतै त्यस्ता मान्छे छुट्नु हुन्नँ भन्ने ख्याल राख्नुपर्छ । उसको आवश्यकता सुन्नुपर्छ । उसको पनि समस्या समाधान गर्नेतिर समाज लाग्नुपर्छ”, दयाहाङ भन्छन् ।
अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेको चलचित्रमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्