‘पूर्ण बहादुरको सारङ्गी’ को निर्माण घोषणा, अर्थपूर्ण पोष्टर रिलिज


चलचित्र ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्रको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारीक घोषणा गरिएको हो ।

सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस चलचित्रलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ । निर्माण टिमले सार्वजनिक गरेको मोसन पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहेको बुझ्न सकिन्छ।
सार्वजनिक मोसन पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटोको अगाडि बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा सारङ्गी झुण्ड्याएका छन् र काँधमा बच्चा बोकेका छन्। बच्चाले सोध्छ- तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौ ?

हाँस्दै बाउले जवाफ दिन्छ- म भन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर । यतिभन्दा ऊ भक्कानिसकेको हुन्छ । गला अबरुद्ध हुन्छ । थप बोल्न सक्दैन ।
चलचित्रले सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथा भन्ने मोसन पोस्टरमाफर्त् संकेत गरेको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो चलचित्रमा सरोज पौडेलले लेखन तथा निर्देशन रहनेछ। रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्