चलचित्र ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक
चलचित्र ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक भएको छ । अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर परेर निर्माणपक्षले पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको हो। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र मङ्सिर १२ गतेबाट रिलिज हुनेछ ।

मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत गरिएको टिजरमा आफ्नो बुवाको मृत्यु भएको सपना डराइडराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाको मनोदसा प्रस्तुत गरिएको छ। बुवाले छोरीलाई उनको डर दूर गराउन सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै कन्भिन्स गर्छन् ।
पहिलो झलक भन्दै निर्माणपक्षले निलो पृष्ठभूमीमा चलचित्रका मुख्य तीन कलाकारलाई प्रस्तुत गरेको छ । पहिलो झलकमा बेनिशासँगै अपर्ण थापा र श्रृष्टि श्रेष्ठ छन् । तीनै जना तनावपूर्ण भावमा छन् । बलिराम चौहानले निर्देशन गरेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, बाल कलाकार ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
निर्माणपक्षले कलाकारको भूमिका र चलचित्रको कथाबारे प्रष्ट पारेको छैन । निर्देशक चौहानले विस्तारै खुलाउँदै जाने बताएका छन् । बलिराम चौहान (ग्याट्स्वी) निर्माता रहेको चलचित्रको सह-निर्माता भोलानाथ कटुवाल र रमन ग्रे, कार्यकारी निर्माता छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहेका छन् । चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् ।आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।