उपासना र सोनामको ‘जलाकी’ ट्रेलर सार्वजनिक


अशोक थापा मगरको निर्देशनमा तयार भएको चलचित्र ‘जलाकी’ को ट्रेलर सार्वजनिक भएको छ । सोनाम तोप्देन र उपासना सिंह ठकुरी मुख्य भुमिकामा रहेको चलचित्रको ट्रेलरमा कलेज जीवनको प्रेमकथा र समयको परिवर्तनसँगै पात्रहरूको जीवनमा आउने भावनात्मक उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

मगर समुदायको सांस्कृतिक पहिचानसँग सम्बन्धित चलचित्रको ट्रेलर दर्शकको मन छुने खालको रहेको छ । त्यस्तै यस अगाडी सार्वजनिक तीन गीतहरु ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ दर्शकले रुचाएका छन् । ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा चलचित्रमा प्रस्तुत गरिएको बताए ।

चलचित्रमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो चलचित्रबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर बबिता राना, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । चलचित्र मङ्सिर ४ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्