अनमोलको करियरकै सफल ओपनिङ गरेको ‘बाटुलो जुन’लाई हलले अन्याय गरेको निर्माता सरोजको गुनासो


कार्तिक २६ गतेबाट अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’ रिलिज भएको छ । बर्षको अपेक्षाकृत चलचित्रको रुपमा हेरिएको यो चलचित्रले बक्स अफिसमा पनि सोहि अनुसारको सुरुवात गरिरहेको छ । पहिलो दिन नै १ करोड ३० लाख बराबरको ओपनिङ्ग गर्दै अनमोल केसीको करियरकै उच्च ओपनिङ्ग गर्ने चलचित्र बन्ने देखिएको छ । साथै नन- सिक्वेल चलचित्रमा उच्च ओपनिङ्ग गर्ने चलचित्र बनिसकेको छ । भुवन केसी निर्देशित चलचित्रमा अनमोलको साथमा प्रिन्सी खतिवडा, भुवन केसी र गरिमा शर्मा मुख्य भुमिकामा रहेका छन् । चलचित्रका प्रचार सामाग्रीले दर्शकको मन जितिरहेको अवस्थामा हलमा पनि सोहि अनुसारको दर्शकको उपस्थिति पनि हलमा देखिएको छ ।

तर चलचित्र निर्माता सरोज न्यौपानेले भने सोचे अनुसारको शोज नपाएको गुनासो गरेका छन् । उनले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै बिदेशी चलचित्रको तुलनामा नेपाली चलचित्रलाई कम शोज दिएको उल्लेख गरेका छन् । हलमा भारतीय चलचित्र ‘रामायण’ को दबदबा रहेको बेलामा बाटुलो जुनले पहिलो दिन नै दर्शकको उल्लेख्य साथ पाएको छ । तर नेपाली चलचित्रलाई समान दर्जा नदिएको भन्दै निर्माता सरोजले गुनासो पोखेका हुन् ।

यस्तो छ उनको स्टाटस :


नेपाली चलचित्रलाई आफ्नै देशका हलहरूमा कहिलेसम्म अन्याय?
हिन्दी चलचित्र ‘रमायण’ लाई ६ शो, नेपाली चलचित्र ‘बाटुलो जून’ लाई जम्मा २ शो! आखिर किन?
नेपाली चलचित्र उद्योगको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने चलचित्र हलहरूले नै नेपाली चलचित्रभन्दा हिन्दी चलचित्रलाई बढी प्राथमिकता दिनु कत्तिको न्यायसंगत हो?
नेपाली दर्शकहरूको माया र साथले उत्साहजनक यात्रा गरिरहेको ‘बाटुलो जून’ जस्तो चलचित्रलाई पर्याप्त शो नदिनु नेपाली चलचित्रकर्मीहरूको मेहनत, लगानी र सिर्जनाप्रतिको बेवास्ता होइन र?
हामी हिन्दी चलचित्रको विरोधमा छैनौँ। तर आफ्नै देशमा नेपाली चलचित्रले पनि न्यायोचित अवसर र सम्मान पाउनुपर्छ भन्ने हाम्रो माग हो।
नेपाली चलचित्रकै दर्शक, बजार र उद्योगको आधारमा स्थापित हलहरूले नेपाली चलचित्रको संरक्षण र प्रवर्द्धनमा पनि जिम्मेवारी निर्वाह गर्नुपर्छ।
हामी विशेष सुविधा मागिरहेका छैनौँ, केवल निष्पक्ष व्यवहार र न्यायोचित शो वितरण मागिरहेका छौँ।
नेपाली चलचित्र बलियो भए मात्र नेपाली चलचित्र उद्योग बलियो हुन्छ। नेपाली चलचित्र उद्योग बलियो भए मात्र हलहरूको भविष्य पनि सुरक्षित हुन्छ।
नेपाली चलचित्रलाई आफ्नै देशमा दोस्रो दर्जाको व्यवहार नगरियोस्
नेपाली चलचित्रलाई माया गरौँ, न्यायोचित अवसर दिऔँ।

प्रतिक्रिया दिनुहोस्