‘छायाँको जीत’ मा महेश र सिम्रनको जोडी
भारतीय निर्देशक शिव शोहितको निर्देशनमा निर्माण हुने चलचित्र ‘छायाँको जीत’को शुभमुहूर्त गरिएको छ। मंगलबार मैतिदेवी मन्दिरमा क्यामेरा तथा पटकथा पूजा गर्दै निर्माण पक्षले चलचित्रको औपचारिक सुरुवात गरेको हो । चलचित्रमा महेश त्रिपाठी र सिम्रन खड्का मुख्य भूमिकामा रहनेछन् ।

जिथ्रीएस फिल्म्सको ब्यानरमा बन्ने चलचित्रमा महेश र सिम्रनसँगै विजय देउजा, इच्छा सिंह, कविता आले, सुदीप पौडेल, राजु कार्की, प्रतीक चौधरी, मनोज भेटवाल तथा बालकलाकार अनामा बम र केशव रोकाया लगायतको अभिनय रहनेछ। विशुद्द प्रेम कथामा आधारित रहेर निर्माण हुने चलचित्रको छायांकन मङ्सिर ४ गतेबाट सुरु हुनेछ ।
चलचित्रको कथा तथा पटकथा निर्देशक शोहित स्वयंले तयार पारेका हुन्। भारतीय मनोरञ्जन क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव बटुलेका शोहितले ‘मृगजा’ (२०२२), ‘तेरी लाडली मैं’ (२०२१) र ‘लाल इश्क’ (२०१८) लगायतका परियोजनामा काम गरिसकेका छन्। उनले ‘क्राइम पेट्रोल डायल १००’, ‘फियर फाइल्स’ र ‘प्यार के पापड’ जस्ता टेलिभिजन धारावाहिकमा समेत काम गरेका छन्।
चलचित्रका निर्माता सुदीप पौडेल र कार्यकारी निर्माता अनुप ढकाल हुन्। उत्सव दाहालले छायांकन निर्देशक रहेको चलचित्रमा योगेश काजी र शिव शोहितको संगीत र सम्पादन भूपेन्द्र अधिकारीको रहनेछ।
सुजन केसी सहनिर्माता, ईश्वर घिमिरे निर्माण व्यवस्थापक, रोयल भीमसेन प्रचार सामग्री तथा पोस्टर डिजाइन प्रमुख र रोशन दीवाना कला निर्देशकका रूपमा चलचित्रमा रहेका छन् ।







