A vertical shot of the black cat in the dark darkness

प्रिमियरमा ‘कार्साङ’ लाई प्रसंसा, शेर्पा संस्कृतिको कथामा इमोसनल प्रस्तुती


पौष २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कार्साङ’ ले बुधबार प्रिमियर गरेको छ। कमलपोखरी स्थित बिग मुभिजमा सम्पन्न प्रिमियरमा सेलिब्रेटी र पत्रकारको उपस्थिति रहेको थियो। शेर्पा संस्कृतिको झल्को दिने माहोलमा सम्पन्न प्रिमियर हेरेर उपस्थित पाहुनाले उत्साहजनक प्रतिक्रिया दिएका छन्।

शेर्पा समुदायको मौलिक कथा भन्ने र उनीहरूको संस्कार र संस्कृति देखाउन चलचित्र सफल भएको कलाकारहरूले बताएका छन् । शेर्पा समुदायको संस्कृति अनुभूत गर्न र नजिकबाट नियाल्न चलचित्र सफल भएको प्रतिक्रिया मिलेको छ।

चलचित्र हेर्न चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, बसन्त निरौला, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, हास्य कलाकार किरण केसी (रातामकै), कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनाली लगायत कलाकार प्रिमियरमा पुगेका थिए ।

अभावमा बाँचिरहेको व्यक्ति आफ्नौ गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो चलचित्रले देखाएको छ । यम शेर्पाले निर्देशन गरेको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको छ । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

चलचित्रलाई मल्टिप्लेक्सले राम्रो शोज दिएको छ। केहि समयबाट चिसिएको चलचित्रको व्यापारिक बजार ‘कार्साङ’ ले तताउने विस्वास गरिएको छ। संस्कृतिक चलचित्र र त्यसमा दयाको उपस्थिति प्राय सफल रहेका छन्। फरक फरक समुदाय र संस्कृतिमा आधारित चलचित्रमा उनले पाएको सफलता ‘कार्साङ’ मा दोहोरिनेमा निर्माण टिम विश्वस्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्