‘अभिमन्यु : च्याप्टर १’ का पोष्टरले के भन्छन् ?
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले सार्वजनिक गरेको दुई पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । एउटा पोस्टरमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन् । अर्को पोस्टरमा कामेश्वर र लक्ष्मी प्रस्तुत छन्। तनाव मुद्रामा कलाकारलाई प्रस्तुत गरिएको छ। सँगै एकजनालाई हतकडी लगाएर प्रहरी कार्यालमा प्रहरी अधिकृतले बयान लिइरहेका छन् । कामेश्वर र लक्ष्मी मन्दिरमा आरती सल्काउँदै खुशी मुडमा देखिएका छन्। निर्माण टीमले दर्शकमा पोष्टर मार्फत कौतुहलता जगाउन खोजेको देखिन्छ ।

चलचित्र भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।
सुशान्त गौतमले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा मुकेश खनालको लेखन र मदन थापा क्रिएटिभ निर्देशक रहेका छन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रमा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता र कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।