‘मालती मंगले’ को कार्यशालामा विजय र वर्षा सहितका कलाकारहरू


गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको चलचित्र ‘मालती मंगले’ को यतिबेला काठमाडौंमा कार्यशाला चलिरहेको छ । भदौ दोस्रो साताबाट छायांकन सुरु हुन लागेको यो चलचित्रको कार्यशाला कलाकार तथा नाट्य निर्देशक संयोग गुरागाईँको संयोजनमा सञ्चालन भइरहेको हो ।


वर्कसपमा चलचित्रका मुख्य अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत सहित सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती लगायतका कलाकारहरू सहभागी छन् । उनीहरुले वर्कसपमा स्क्रिप्ट पढ्दै आफूले निभाउने पात्रलाई नजिकबाट बुझ्ने प्रयास गरिरहेका छन् ।

अभिनेता बरालले ‘मालती मंगले’ ले नेपाली समाजको यथार्थ कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पात्रलाई अझै नजिकबाट बुझ्न यो वर्कसपले ठूलो मद्दत पुर्‍याएको छ। दर्शकले आफ्नो कथा पर्दामा देखेझैँ अनुभूति गर्नेछन् ।’

त्यसैगरी, अभिनेत्री राउतले कार्यशालालाई आफूलाई पात्रमा ढाल्ने अवसरका रुपमा लिएको बताइन् । उनी भन्छिन्, ‘यो चलचित्र पारिवारिक भावनासँग जोडिएको छ । वर्कसपमार्फत पात्रको गहिराइमा पुग्ने अवसर पाइरहेकी छु ।’ यो चलचित्रमा उनको जोडी विजयसँग बाँधिनेछ । उनीहरुको यो पहिलो सहकार्य हो ।

पारिवारिक प्रेमकथामा आधारित रहने ‘मालती मंगले’ लाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । रविन श्रेष्ठ र बाबु सुवेदी सह-निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सागर ज्ञवाली हुन्।

प्रतिक्रिया दिनुहोस्