‘वरिष्ठ बलराम मा शो पिस पात्र छैन ‘- समृद्धि अर्याल
आफ्नो दोश्रो चलचित्र रिलिजको संघारमा रहँदा अभिनेत्री समृद्धि अर्याल उत्साहित रहेकी छिन्। प्रचारप्रसारमा व्यस्त रहेकी अर्याल आफ्नो चलचित्र ‘वरिष्ठ बलराम’ मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् ।
“म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” समृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।”

विजय बरालको अपोजिटमा रहेर उनले काम गरेकी छिन् । “विजय बराल र दयाहाङ राई दुवै जना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो,” उनी भन्छिन्, “मेरा लागि यो चलतित्र सिक्ने मौका बन्यो ।” सुरुमा चलचित्रका लागि अफर आउँदा को कलाकार छ भन्दा दयाहाङ र विजय भनेर सुन्दा काम गर्न सक्छु र भन्ने भएको तर पछि यो काम सिक्ने मौका पनि हो भन्ने सोचर स्वीकार गरेको उनको भनाइ छ ।
पहिलो चलचित्र ‘फर्की फर्की’मा काम गर्दा धेरै नयाँ कलाकार भएकाले काम गर्न सहज भए पनि ‘वरिष्ठ बलराम’मा भने अग्रज अभिनयमा पारंगत कलाकार भएकाले संकोच र सिकाई दुवै भएको उनले बताइन् ।
यद्यपि, चलचित्रमा आफू शो पिस मात्रै नरहेको उनको दाबी छ । आफ्नो चलचित्र करियरको यात्रामा ‘वरिष्ठ बलराम’को क्यारेक्टरले सहयोग गर्ने उनको भनाइ छ । कुशुमको क्यारेक्टरमा देखिने उनले भनिन्, “यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ ।”
सुरेन्द्र पौडेल निर्देशित चलचित्र कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् भने कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् ।