विजय बरालको ‘जिरो डिग्री’ माघ १५ मा रिलिज तय
चलचित्र ‘जिरो डिग्री’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यस अगाडी तिहारमा रिलिज मिति चर्चामा रहेको चलचित्रले आफ्नो प्रदर्शन मिति माघ १५ गतेलाई तय गरेको छ। डार्क कमेडी चलचित्रले आफ्नो पहिलो झलक सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो। सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य नायक विजय वराललाई प्रस्तुत गरिएको छ। ‘पुन्य चौलागाईँ’ क्यारेक्टरमा रहेका विजय वराल ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा घोडामाथि देखिएका छन्। विजयको अगाडि तथा पछाडि दुईवटा पंखा बोकेर हिँडिरहेको दृश्यले पोस्टरलाई व्यङ्ग्यात्मक र कौतूहलपूर्ण बनाएको छ।

चलचित्रको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने उथलपुथलपूर्ण तथा रमाइला परिस्थितिहरू वरिपरि केन्द्रित छ। यसअघि गाउँलेहरूले पहाडी बाटो हुँदै ठूलो काठको बाकस बोकेको दृश्यसहितको पोस्टर सार्वजनिक गरिएको थियो। आकाश वराल र सजन काफ्लेको निर्देशन रहेको चलचित्रको चलचित्रको कथा तथा पटकथा दुवैले तयार पारेका हुन्। आकाश र सजनले यस अगाडी ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेका थिए।
चलचित्रमा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री, शारदा सिलवाल लगायतका कलाकारको अभिनय रहेको छ।
मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रलाई निशाल पौडेलले छायांकन गरेका हुन्। चलचित्रको पोष्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेका हुन्।









