‘आ बाट आमा’ मा अभिनेत्री विपना थापा अनुबन्धित


चन्द्र पन्तको निर्देशनमा तयार हुन् लागेको नयाँ चलचित्र ‘आ बाट आमा’ मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन्।
उनलाई निर्देशक पन्तले केहि दिनअघि अनुबन्ध गरेका हुन्। चलचित्र ‘ह्रस्वदीर्घ’ मार्फत १६ वर्षको अन्तरलामा नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापासँग पन्तको यो दोस्रो सहकार्य हो। पन्तले ‘ह्रस्वदीर्घ’ निर्देशन गरेका थिए। निर्देशक पन्तले चलचित्र ‘आ बाटा आमा’ मा विपना शीर्ष भूमिकामा रहने र उनैको वरिपरी कथा घुम्ने बताए ।

आगामी भदौँ देखि छायाँकनमा जान लागेको यस चलचित्रमा काम गर्न पाउँदा आफु निकै उत्साहित भएको विपनाको भनाई छ। अभिनेत्री थापाले चलचित्रको कथा सुन्दा नै आफुलाई भावुक बनाएको र काम गर्न राजी भएको जानकारी दिइन्।

यसअघि अभिनेत्री थापाले ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निवार्ह गरेकी थिइन्। यो चलचित्रले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएको थियो। अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस चलचित्रको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। आमा र सन्तानबीचको सम्बन्धको कथा भन्ने चलचित्र फागुन १५ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्